कात्तिक १२, काठमाडौं । तामाङ चलचित्रका नायिका किशा
थोकरको दुबईको फुजेरामा सडक दुर्घटनामा परी निधन भएको छ ।उनी रोजगारीको सिलसिलामा युएईको
फुजेरामा रहँदै आएकी थिइन् । उनी त्यहाँ पाँच महिना अघि मात्रै पुगेकी हुन् ।
युएईबाट ललितपुरका ज्ञान मोक्तानले दिएको
जानकारी अनुसार उनी पीएसएस (Professional Security System ) भन्ने कम्पनीमा कार्यरत थिइन् । ड्युटीमा जाँदै
गर्दा सडक पार गर्ने बेलामा कारले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको बताइएको छ
। उनको पार्थिव शरीरलाई फुजेराको एक अस्पतालमा राखिएको छ ।
२२ वर्षकी नायिका थोकर काभ्रे जिल्लाको
शिखर अम्बोटेमा जन्मेका हुन् ।
उनले पहिलो पटक २०६७ सालमा ‘आले च्याङबा’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । त्यसपछि
‘अे बिना ङा सो आखाम’, ‘नालिस’, ‘तिङला
जो’ र नेपाली चलचित्र यू एन्ड मी मा पनि अभिनय
गरेकी थिइन् ।
यता नायिका किशा थोकर दुर्घटनामा परी निधन
भएको खबर आएकोले तामाङ चलचित्र सङ्घको आकस्मिक बैठक बस्न लागेको अध्यक्ष जेनिश दोङले
जानकारी दिएका छन् ।