राजधानीमा तरकारीको मूल्यमा दोब्बर वृद्धि
Admin / 2014-06-10 03:09:50
नेपाल ब्युरो–जेठ २७,काठमाडौ ।
बर्षायाम सुरु भएसंगै राजधानीमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ ।
तरकारी उत्पादन हुने जिल्लामा सुख्खा भएपछि त्यसको असर राजधानीमा परेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । व्यवसायीका अनुसार राजधानीमा तरकारी पर्याप्त मात्रमा आउन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक सातामा मात्रै अधिकांश तरकारीको मूल्य दोब्बर बढेको छ ।
साताअघि प्रतिकेजी ६७ रुपैयाँ होलसेल पर्ने ब्रोकाउलीको मुल्य अहिले बढेर १ सय ३७ रुपैयाँ पुगेको छ । यस्तै, सानो र ठूलो गोलभेडा, आलु, बन्दा, भान्टा, मटरकोसा, घिउसिमी, तितेकरेला, लौका, परवर, हरियो प्याज, न्युरो, गाजर, अदुवा, लसुन, लगायत तरकारीको मुल्य आकासिएको छ ।
साताअघि होलसेल भाउ प्रतिकेजी ७८ रुपैयाँ पर्ने मटरकोसा बढेर ९७ रुपैयाँ, किलोको २१ रुपैयाँ पर्ने ठूलो गोलभेडा बढेर होलसेल मूल्य ३० रुपैया, होलसेल मूल्य प्रतिकिलो २५ रुपैयाँ पर्ने सेतो आलु बढेर ३० रुपैयाँ, किलोको ३१ रुपैयाँ पर्ने रातो आलु बढेर ३५ रुपैयाँमा कारोबार भएको छ ।
गर्मीसँगै केही तरकारीको अफ सिजन पनि भएकाले समस्या भएको समितिको दाबी छ ।
प्रकाशित मिति: 2014-06-10 03:09:50
प्रतिक्रिया: