सिन्धुपाल्चोकको कोठे सडक खण्ड फेरी अवरुद्ध
Admin / 2014-09-13 02:37:55
नेपाल ब्युरो– भदौ २८ ।
सिन्धुपाल्चोकको कोठे सडक खण्ड फेरी अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोठे सडक खण्डमा जुरे पहिरोले सुनकोशी नदी थुनिएर बनेको कृत्रिम ताल फुटेपछि आएको बाढीले क्षति गरेको सडक मर्मत गरेर हिजो दिनभर सञ्चालन गरेपनि आज राति परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले सडक अवरुद्ध गरेको सिन्धुपाल्चोकका डिएसपी दिनेश खरेलले जानकारी दिनुभयो ।
सो राजमार्गको साँघुरो स्थानमै पहिरोले बाटो छेकेपछि सिन्धुपाल्चोक हुँदै राजधानी पूर्वका दोलखा, रामेछाप र ओखलढुंगा तर्फ हिडेका र राजधानी आउँदै गरेका दजनौँ सवारी साधन कोठेमै रोकिएका छन् ।
डिएसपी खरेलका अनुसार पहिरोले १० मिटर बाटो अवरुद्ध गरेको छ ।
पानी परिरहेको र माथिबाट पहिरो आउने क्रम नरोकिएकाले डोजर, स्काभेटर जस्ता उपकरण प्रयोग गरी तत्काल बाटो नखुलाउन सडक विभागका इन्जिनियरहरुले बताएकाले वर्षा रोकिएपछि मात्रै बाटो खुलाउने डिएसपी खरेलले बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-13 02:37:55
प्रतिक्रिया: